काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टिस्टेटको फाइल खोल्न लागेपछि सरकार परिवर्तन हुन लागेको बताएका छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पराजुलीले भुटानी शरणार्थी प्रकरणको फाइल र गिरिबन्धु टि–स्टेटको फाइल अगाडि बढाउन लागेपछि एमाले र काँग्रेस डराएको बताए ।

एमाले र काँग्रेसलाई आफूहरु बँचिँदैन भन्ने लागेपछि सत्ता परिवर्तन हुन लागेको उनको भनाइ छ । उनले नयाँ सत्ता समिकरण बनाउनुमा आफू र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनु बाहेक अरु कुनै स्वार्थ नभएको बताए ।
‘सबैभन्दा अचम्म र लाजमर्दो विषय त यस्तो विपद् र वर्षाको समयमा जिम्मेवार भनिएका राजनीतिक दलहरु व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरुद्धको कारबाहीको डरको कारण सरकार फेरबदल र समीकरणमा लागेका छन्,’ उनले भने, ‘विगत ३३÷३४ वर्षदेखि गरिब र निर्दोष जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसे जस्तोगरी निमुखा जनतालाई चुसिरहेका राजनीतिक दलहरु यस्तो विपद्को समयमा एक ठाउँमा उभिएर जनतालाई राज्य भएको महशुस दिनु त कता हो कता विभिन्न स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छोडिदिएर सरकार परिवर्तनमा लागेका छन् । अनि त्यो परिवर्तन केवल आफु र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउन बाहेक अरु कुनै स्वार्थ छैन ।’
प्रतिपक्षमा रहँदा काँग्रेसकै नेताहरुले गिरिबन्धुका फाइल खोलियोस् भन्ने गरेको र ०४७ यताका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भनेर प्रश्ताव संसदमा दर्ता पनि गराएको उनले स्मरण गराए ।
तर छलफल चलाऔँ भन्दा कहिले अगाडी नबढेको भन्दै उनले भने, ‘आज आएर गिरिबन्धुको फाइल खोलौँ भन्नेहरु र भुटानी शरणार्थी प्रकरणको कारबाही अगाडी बढाउनेबित्तिकै अब हामी कोही बच्दैन रहेछौँ है, गृहमन्त्रालय एक्शनमा उत्रेको रहेछ अब बँचिदैन भन्ने डरले निकै कडा रुपमा डेरा जमाएको महशुस भएको छ ।’