Logo
Logo

पुरानै संयन्त्रमा मलेसियामा कामदार


- दृष्टि न्युज/संवाददाता


File Photo


काठमाडौं, ९ माघ । मलेसियामा नेपाली कामदार पुरानै संयन्त्रमा पठाइने भएको छ ।
नेपाल र मलेसियाबीचको श्रम समझदारी (एमओयू) पछि पनि मलेसिया कामदार पठाउने प्रक्रिया सुरु हुन सकेको छैन । यसैबेला मलेसिया सरकारले नेपाली कामदार नियुक्तिमा पुरानै संयन्त्र कायम रहेको र हाल काम गरिरहेका संस्था मलेसियाको मापदण्ड अनुसार रहेको बताएपछि पुरानै संयन्त्रमा सुचारु हुने सम्भावना बढेको हो ।
गएको २४ पुसमा श्रम मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले कामदार पठाउने प्रक्रिया कसरी सुरु गर्ने र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको मापदण्ड कस्तो हुने भन्ने लगायत विषयमा प्रस्ट पार्न आग्रह गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत मलेसिया सरकारलाई पत्र पठाएको थियो । उक्त पत्र पत्र पठाएको करिब दुई सातापछि दूतावासमार्फत मलेसिया सरकारले कामदार नियुक्तिमा पुरानै संयन्त्र कायम रहेको बताएको हो ।
कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३७ संस्थाले मलेसिया सरकारको मापदण्ड अनुसारको प्रक्रिया पूरा गरेको दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ ।
‘रोजगारीका लागि मलेसिया जाँदा सुरुमा अध्यागमन सुरक्षा जाँच र त्यसपछि बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण गरी अनलाइनमार्फत त्यस्तो परीक्षणको रिपोर्ट मलेसियाको अध्यागमनले अनलाइनमार्फत प्राप्त गरेपछि कलिङ भिसा दिइन्छ,’ दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको जवाफमा भनिएको छ, ‘कलिङ भिसा प्राप्त गरेपछि अन्तिम प्रवेषाज्ञाका लागि ओएससी÷भिएलएनले राहदानी संकलन गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्