Logo
Logo

हवाई रुट दिन भारत सहमत


- दृष्टि न्युज/संवाददाता


भैरहवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्दै कामदार

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश बिन्दु दिन भारत सहमत भएको बताएका छन् ।
उक्त विमानस्थल आगामी सन् २०२० देखि सञ्चालनका लागि तयार हुने लक्ष्य लिइएको छ । तर, हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको मन्त्री अधिकारीले बताएका छन् । एकमात्र हवाई प्रवेश बिन्दु हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ ।
भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट विमान प्रवेश गर्न सक्नेगरी हवाई रुट बनाउने काम भइरहेको मन्त्री अधिकारीले जनाए । ग्लोबल एभिएसन समिटमा सहभागी हुन केही दिनअघि मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट यस रुटबारे सहमति भएको जानकारी दिए । उनले भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्मक रहेको बताए ।

भारतले गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाए पनि पछि आनाकानी गर्दै आएको थियो । तर, अहिले तत्कालका लागि भैरहवामा मात्र रुट दिन भारत सकारात्मक भएको हो ।
भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुने गरेका छन् । महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ । यसमा भारतले सहमति दिए पनि काम भने अघि बढ्न सकेको छैन ।
सन् २०१६ मै भएको वार्तामा प्राविधिक तहमा छलफल गरी रुटबारे टुंगो लगाउने सहमति भएको थियो । भैरहवा रुटबाट हाल जहाज बाहिर जान भने पाउँछन् । भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्नेछ । काठमाडौं विमानसथल आउनलाई पनि त्यहाँबाट आएका जहाजलाई छोटो दुरी पर्नेछ ।
धमाधम निर्माण भइरहेको भैरहवा विमानस्थलको अहिले धावनमार्ग कालोपत्रे गर्ने काम भइरहको छ । बैशाखसम्म धावनमार्ग र ट्याक्सी वे को कालोपत्रे सकिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्