
काठमाडौं । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको व्यक्ति हत्या मुद्दाको फैसला आज हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलिरहेको छ । उनीविरुद्धको मुद्दामा गत जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले असार १२ का लागि निर्णय सुनाउने मिति तोकेको थियो। तर, सापकोटाको निसु तोकिएको दिन संवैधानिक इजलासमा रहेका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत बागलुङको निरीक्षण भ्रमणमा निस्किएपछि सापकोटाको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो ।
काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटासमेतले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी नलिएपछि सर्वोच्चले २०६४ सालमा उक्त निवेदन दर्ता गरेको थियो । यसअघि पनि सापकोटाविरुद्धको मुद्दा सुनवाइका लागि पटक पटक पेशी चढेपछि स्थगित हुँदै आएको थियो ।
आज भने यो मुद्दाको फैसला हुने अपेक्षा गरिएको छ । यो फैसलासँगै सशस्त्र द्वन्द्वका समयमा घटेको घटनालाई सत्यनिरुपण आयोगमार्फत निरुपण गर्ने वा फौजदारी न्यायको प्रक्रिया अघि बढ्ने भन्ने निर्क्योल हुनेछ । सापकोटा प्रहरीको फरार सूचीमा छन् । तर, फरार सूचीमै रहेका सापकोटा सांसद, दुईपटक मन्त्री र एकपटक सभामुख भइसकेका छन् ।
सापकोटालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश भएमा सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका नाममा हत्या, बलात्कार, अपहरणसहितका मुद्दाका अभियुक्त र आरोपितले उन्मुक्ति पाउने छैनन् ।














