
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हिजो मंगलबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले जानकारी दिए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए ।
साउन १५ गते त्रिविको सिनेट बैठकमा आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो ।














