काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।














