
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका हुन् ।
मन्त्री पाण्डे बुधबारै दुर्घटनास्थलमा जाने तयारीमा थिए । तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएकाले संभव नभएको उनको सचिवालयले जनाएको छ ।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो । उनीहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पोर्टमार्टम गर्ने तयारी भएको छ ।














