
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले हवाई दुर्घटनाबारे साे प्रतिक्रिया दिएका हुन् । त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनको भनाई छ ।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकाेप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको अधिकारीको दाबी छ ।
उनले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाई थियो ।
आफुहरु घटनास्थल पुगेर अवलोकन गरेको भन्दै उनले खराब मौसममा बादलभित्र प्रवेश गरेका कारण फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिएको बताए ।
हिजो (बुधबार) दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा चार चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो । मृत्यु भएका पाइलटसहित पाँच जनाको आज पोस्टमार्टम गर्ने तयारी भएको छ ।














