Logo
Logo

कुलमानले लेखा समितिलाई बुझाए ५० हजार पेजको डेडिकेटेड र ट्रंक लाइनको विवरण


504
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्याङ्क बुझाएको छ ।

समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए । ​डेटिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ ।

‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

उद्योगीहरु र प्राधिकरणबीच वर्षौँअघिको महशुल बक्यौता विवाद चलिरहेको छ। पछिल्लो समय उक्त विवाद चर्किँदै गएपछि वर्तमान सरकारले प्रमाण दिएर बक्यौता उठाउनुपर्ने भन्दै उद्योगीलाई साथ दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्मले प्रमाणविना प्राधिकरणले उद्योगीसँग बक्यौता उठाउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उद्योगहरुसँग जसरी पनि बक्यौता असुल गरिछाड्ने पक्षमा छन् ।

सोहीअनुसार ६ अर्ब ४३ करोड बक्यौता र त्यसको २५ प्रतिशत जरिवानासहित प्राधिकरणले उद्योगहरुलाई बिल काटेको छ ।

प्रतिक्रिया दिनुहोस्