
काठमाडौं । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले क्याप्टेन मल्लको शव पोष्टमार्टम सकेर आज परिवारलाई जिम्मा लगाएको फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका अन्य चार चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार सङ्कलन गर्ने कार्य जारी छ । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको हो ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । दुर्घटनामा हेलिकोप्टरमा सवार सबै (पाँच जना)को मृत्यु भएको थियो ।














