
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको बताएका हुन् ।
दिनानुदिन विदेश पलायन भैरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको उनको भनाई थियो ।
उनले नेपालमा भएका प्राकृतिक सम्भावनाहरुलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गरे ।
उनले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।














