Logo
Logo

सिंगापुरको विकास मोडल सिक्न नेपाली श्रमिक लैजान प्रस्ताव


63
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन (ईफाप्का)का महासचिव एनजी एक मेङ्गबीच भेटवार्ता भएको छ ।

ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आएका महासचिवलाई महासंघले स्वागत गरेको हो । महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको बताए ।

सिंहले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रस्ताव गरिएको बताए । उनले महासचिवले महासंघको प्रस्तावलाई स्वीकार गरेको पनि जानकारी दिए।

ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको बताए। उनले ईफाप्कामा १८ देशहरू सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताए ।

उनले सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धी तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको बताए ।

महासचिव मेङ्गले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्