काठमाडौं । माओवादी सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेपछि एमाले सचिव योगेश भट्टराई आलोचनाको सिकार बनेका छन् ।
कुनै बेला सशस्त्र जनयुद्धलाई महान् भन्ने उनै भट्टराईले गत बुधवारको प्रतिनिधिसभा बैठकमा माओवादी सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेपछि दोहोरो चरित्र देखाएको भन्दै उनी आलोचित बनेका हुन् ।

योगेशले संसदमा माओवादीको हिंसात्मक द्वन्द्वकै कारण देश १० वर्ष पछि धकेलिएको र विद्युतको क्षेत्रमा माओवादीले आतंक मच्चाउँदा लोडसेडिङको मारले देश पछाडि परेको दलिल पेस गरेका थिए ।
योगेशले यस्तो शब्दको प्रयोग गरेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । माधवले विरोध जनाएपछि भनाभन चल्यो । योगेश हिंसा हो भन्नेमै केन्द्रित बने भने माओवादी केन्द्रका सांसदहरू प्रतिरोधमा उत्रिए ।
तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरू झनै बिच्किए । माओवादीका सांसदहरूले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।
त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए ।
त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरेका थिए ।
अहिले योगेश आलोचनाको सिकार मात्रै भएका छैनन्, हतियार तस्करीको गम्भीर आरोप लागेको छ । जनयुद्धलाई हिंसा देख्नेले आफ्नै अध्यक्षमाथि टाउको काटेको आरोपलाई कसरी हेर्नु भन्दै प्रश्न गरिरहेका छन् । योगेशमाथि जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको गम्भीर आरोप लाग्दै आएको छ ।
केही समयअघि उनकै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले समेत एक टेलिभिजन कार्यक्रममा योगेश तस्करीमा संलग्न पात्र भएको दाबी गरेका थिए ।
त्यसै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि जनयुद्धका समयमा योगेश माओवादीको भेषमा आफूलाई धम्क्याउन आएको बताएका थिए । त्यस समयमा योगेशका ससुरालीतर्फका दरबारिया आफन्तविरुद्धको मुद्दा आफूले हेरिरहेको र मिलापत्र गराउन माओवादीको भेषमा आफ्नै कार्यालयमा आएका योगेशले दबाब दिएकोसम्म अधिवक्ता न्यौपानेले खुलाएका थिए ।
प्रचण्डसँग काँध थापेर सत्ताको स्वाद लिइरहँदा माओवादी जनयुद्धलाई परिवर्तनको संवाहक देख्थे र प्रचण्डलाई क्षमतावान् नेताको रुपमा वर्णन गर्थे । उनले माओवदी सशस्त्र जनयुद्धमा कमभन्दा कम क्षति भई ठुलो उपलब्धि भएको भन्दै दिएको अभिव्यक्ति समेत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
संविधानले जनयुद्धलाई सशस्त्र युद्ध भनेको छ । कुनै बेला आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई भूतप्रेत देख्ने योगेश अहिले पार्टीमा ठाउँ पाउन उनै ओलीलाई राजनेता देखिरहेका छन् ।
उनै योगेशले कुनै समय ओलीको लिंग पहिचान हुन नसकेकोसम्मका आपत्तिजनक अभिव्यक्ति दिएका थिए । अहिले उनै ओलीका गलत काममा पनि काँध हालेर हिँडिरहेका छन् । यसले योगेशको राजनीतिक परिपक्वतामाथि प्रश्न उठेको छ । ०००














