काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा लगाउन आग्रह गरेका छन् ।
आज सोमबार सामाजिक सञ्जालबाट उक्त आग्रह गर्दै ज्ञानविहीन भएरपछि देश चलाउने ठाउँमा पुग्दा अरूको इशारामा चल्नुपर्ने देखिएको पनि बताएका हुन् ।

उनले आइतबार साँझ नेकपा (एमाले) सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेका थिए । त्यसपछि एमालेका कार्यकर्ताले सांसद शर्माको बचाउ गर्दै आएका छन् । त्यसपछि उनले पुनः सामाजिक सञ्जालबाट ओलीको आलोचना गरेका हुन् ।
उनले सांसद शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै र आफैँ हार्दै आएको बताए।
उनले भनेका छन्, ‘समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफैँ हार्दै छिन्, महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ, प्रधानमन्त्री खडक प्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला, पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इसारामा चल्ने हुनुपर्ला ।’
उनले अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको पनि बताए। ‘जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बीचको मुद्दा होइन, बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन, जुन रिट अदालतले खारेज गरेको छ, अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ, आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षा दीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ,हाम्रो द्वन्द्व बालिकाको आमा बाबुसँग थिएन, त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन्,’ उनले उल्लेख गरेका छन्।














