Logo
Logo

आजपाद्वारा मधेसमा शैक्षिक हडतालको घोषणा


1.5k
Shares

वीरगंज ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षकको माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

 मधेसमा कार्तिक ५ गतेदेखि शैक्षिक आम हडतालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका विभिन्न कार्यक्रम गर्ने जनाएको छ । 

आजपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साह र अध्यक्ष उमेश कुशवाहाले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका छन् । 

हालै काठमाडौंमा सम्पन्न भएको आजपाको केन्द्रीय कमिटी बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तेस्रो आन्दोलनको पूर्व तयारीमा आन्दोलनका विभिन्न चरणबद्ध रणनीति पेश गर्दै सोही अनुसार आन्दोलनको कार्यक्रम आएको छ । 

आजपाले मधेसका जिल्लाहरूमा भदौ २५ गतेदेखि ३० गतेसम्म प्रत्येक विद्यालयहरिमा संघर्ष समिति गठन गर्ने, असोज २ गतेदेखि ४ गतेसम्म विद्यार्थीहरूको विशेष प्रदर्शन गर्ने, असोज ३ गते संविधानको अन्तयष्टि यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ । 

यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखि आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले गरेको छ । 

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाइ नगरेका कारण बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस विषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए । 

प्रतिक्रिया दिनुहोस्