
काठमाडौं । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरकी एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
२२ वर्षीया न्यौपानेको हत्या अभियोगमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खानलाई पक्राउ गरेको हो । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् ।
खानलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
यसअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए ।
घटना अनुसन्धानका क्रममा खानलाई भाग्न सहयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














