काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे– बालश्रम शोषणको मुद्दा लागेकी तपाईँको सांसदलाई कहिले समाउने ? कि नसमाउने ?
महानगरको टोलीले गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गते लुम्बिनीको प्रदेशसभा सांसद रेखा शर्माको घरमा बाल श्रमिकको रूपमा रहेकी एक बालिकाको उद्धार गरेको थियो । ती बालिकालाई उद्धार गरेपछि महानगरले एमाले प्रदेश सांसद शर्मालाई कारबाहीको लागि सङ्घीय सरकारसँग अनुरोध गर्यो ।

महानगरले सांसद शर्मामाथि कानुनी कारबाही लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी पनि दियो । तर, अहिलेसम्म सांसद शर्मामाथि सोधपुछ समेत भएको छैन । सांसद शर्मामाथि सरकारले अनुसन्धान अघि नबढाएपछि एमालेको नेतृत्वको सरकार भएको र सरकार नै उनको संरक्षणमा लागेको आशङ्कामा बालेनले तपाईँको सांसदलाई कहिले समाउने कि नसमाउने ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
सांसद शर्माको फोटोसहित मेयर बालेनले लेखेका थिए– उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले पनि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ । सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?
मेयर बालेनले पार्टीकी एक सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रियो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त बालेनलाई गलत भ्रम नफिँजाउन चेतावनी नै दियो ।
एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले फेसबुकमै अर्को लामो स्ट्याटस लेखे । उनले सांसद शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै र आफैँ हार्दै आएको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफैँ हार्दै छिन्, महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ, प्रधानमन्त्री खडक प्रसाद ओलीज्यू तपाईँ आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला, पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इसारामा चल्ने हुनुपर्ला ।’
उनले अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको पनि बताए । उनले लेखेका छन्– ‘जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बीचको मुद्दा होइन, बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण ग¥यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन, जुन रिट अदालतले खारेज गरेको छ, अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ, आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षा दीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ,हाम्रो द्वन्द्व बालिकाको आमा बाबुसँग थिएन, त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् ।’
मेयर बालेका यी दुवै स्ट्याटस तत्कालै भाइरल भए । हजारौँले लाइक कमेन्ट र सेयर गरे । तर, अघिल्लो स्ट्याटस भने बालेनको फेसबुकबाट एकाएक गायब भएको छ । प्रदेश सांसद शर्माको तस्बिरसहित राखेको स्ट्याटस किन र कसरी डिलिट भयो त ? बालेनको सचिवालयको अनुसार यो स्ट्याटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो ।
एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको बालेनको सचिवालयको भनाइ छ । हटेको उक्त स्ट्याटस रिकभर गर्ने प्रयास भइरहेको समेत बालेनको सचिवालयले जनाएको छ ।
फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनको ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस फेसबुकले डिलिट गरिदिएको थियो । सांसद शर्माविरुद्धको स्ट्याटस डिलेट भएपनि सामाजिक सञ्जालमा बालेन एमालेसँग डराएको हो ? भन्दै प्रश्न गर्न थालिएको छ ।
त्यसो त बालेन पनि स्ट्याटस लेख्दा चिप्लिएको देखिन्छ । बालेनले एमाले प्रदेश सांसद शर्मालाई अदालतले मुद्दा चलाऊ भनेर भनिसकेको बताएका छन् । महानगरले प्रहरीमा उजुरी दिएपछि सांसद शर्माले सम्भावित पक्राउबाट जोगिन उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।
उच्च अदालतको सांसद शर्माको रिटको दाबी नपुग्ने बदर गरिदियो । तर, पक्राउ गर्ने आदेश भने दिइसकेको छैन । प्रहरीको अनुसार महानगरको उजुरीपछि प्रहरी अनुसन्धानका लागि शर्माविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालत पुगेको थियो । तर, अहिलेसम्म अदालतले पक्राउ पुर्जी जारी गरेको छैन । नेताहरूप्रति बारम्बार खरो टिप्पणी गरेर वाही वाही कमाउने मेयर बालेन यसपटक भने आफै चुकेको देखिएको छ ।














