काठमाडौं । सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ ।
एक साताअघि मलेसिया गएका एक जना एसपी र एक जना सई बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । जीबी मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो ।
उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन नमिल्ने प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार जीबीले ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट खरिद गरेर बसेका छन् । यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो ।