Logo
Logo

बाँकेकी ९ वर्षीया बालिकामा जापानिज इन्सेफ्लाइटिस पुष्टि


378
Shares

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला परेका छन् । भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर–१ मतहनियाका ९ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको हो ।

ती बालिकाको एक सातासम्म ‘आईसीयू’मा उपचार गरिएको र अहिले उनको अवस्था सामान्य रहेको अस्पताल​की बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकरी दिइन् ।

जापानिज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने ​बताइन्छ । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे थाहा हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताए ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ ।

यो भाइरसले मुख्यतया मस्तिष्कमा असर पार्छ। जापानिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले बताए ।

यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा.खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्