काठमाडौँ । जसपा नेपालको हालै सम्पन्न महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले आज निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
उनले केन्द्रीय समिति, पदाधिकारी चयनलगायतका विषय विधान तथा निर्देशिका विपरीत भएको र त्यसको छानबिन गरी गैरकानुनी रूपमा भएका कामकारबाहीहरू बदर गर्न माग गरेका छन् ।
जसपा नेपालको गत जेठमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव मात्र सर्वसम्मतिले चयन भएका थिए । चुनाव भए पार्टीको समावेशी सन्तुलन बिग्रिने डरले चुनाव स्थगित गरेर केन्द्रीय समिति चयन गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको थियो ।
अध्यक्ष यादवले केन्द्रीय समितिसहित कार्यकारिणी र पदाधिकारीहरू पनि घोषणा गरिसकेका छन् । तर त्यो घोषणाप्रति पार्टीका थुप्रै नेताहरूले असहमति जनाउँदै आएका छन् ।














