
सूर्य बिसी, दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक दलहरु अप्ठ्यारोमा पर्दा मिडियाले बचाएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो तीन वर्षे कार्यकालमा गरेका उपलब्धि देखि दाङमा पत्रकारिताको इतिहाससम्म समेटिएको मिडिया मन्थन नामक पुस्तकको विमोचन गर्दै मुख्यमन्त्री आचार्यले उक्त धारणा राखेका हुन् ।
०४६ देखि ०६२ ÷०६३ का जनआन्दोलनमा मिडियाको महत्वपूर्ष भूमिका रहेको बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘दलहरु कठिन मोडमा रहँदा हरेक समय पत्रकारहरुकै माध्ययबाट राजनीति गरेका छन् । मिडियाकै सहयोगमा उठेका छन् । त्यसकारण आज देशमा फैलिएको नैरास्यता चिर्न पनि दलहरु र मिडियाकर्मी मिलेर जान जरुरी छ ।’
शुसासनका लागि इमानदारीपूर्वक पहल गरिरहेको बताउँदै मुख्यमन्त्री आचार्यले खादा, अबिर, माला निषेध गरेको, मन्त्रिपरिषदले निर्णय गरेर आचारसंहिता बनाएको, मितव्ययी बनेको, पदमुक्त भए लगत्तै राज्यबाट सुविधा नलिने घोषणा गरेको, जनताको सुझाव संकलन गर्न सबै मन्त्रालयमा सुझाव पेटिका राख्न लागेको भन्दै सरकारका प्रयासबारे फेहरिस्त पेस गरेका थिए ।
महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले पत्रकारिता गहिराईमा आधारित हुनु पर्ने बताए । पत्रकारितामा राजनीति हुन नहुने बताउँदै मन्त्री न्यौपानेले प्रदेश संरचना बलियो र विस्वसनीय बनाउनु पर्नेमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले महासंघलाई बलियो, पारदर्शी र जनतासँग जोड्नका लागि मिडिया मन्थन सुरु गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक टीकाराम रेग्मी, नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासी, वरिष्ठ पत्रकार सुशिल गौतम र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत मन्तव्य राखेका थिए ।














