
काठमाडौं । बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर निधन भएका तीन जनाकै परिचय खुलेको छ ।
गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको दुर्घटना जिपमा सवार ४ जनामध्ये तीन जनाको निधन र एक जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बालगुङका सूचना अधिकारी प्रताप पौडेलले मृत्यु भएका सबैको शव संकलन गरिएको जानकारी दिए । उनका अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका–२ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको हो ।
उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं आएकी थिइन् । दाँतको उपचार गरेर फर्किएका आमाछोली घरसम्म पुग्न पाएनन् । बाटोमै अस्ताए ।
गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुनको टाउकोमा चोट लागेको र उपचारका लागि धवलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।














