काठमाडौं । नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरि तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उनले बताए । नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने विधि बसाल्ने लगायतका विषय कार्ययोजनामा रहेको उनले बताए ।
त्यस्तै महासचिव पोखरेलले पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, कामका नयाँ क्षेत्र पहिचान गर्ने लगायतका कार्ययोजना रहेको जानकारी दिए ।
महासचिव पोखरेलले उपसभामुखमा विषयमा बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा नपुगेपनि घटनाक्रमलाई हेर्दा उपसभामुख पदमा बस्न नमिल्ने धारणा राखे ।
त्यस्तै सचिवालय बैठकले भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी महासचिव सीताराम येचुरीको अन्तिम बिदाइका लागि पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँदिल्ली पठाउने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।














