काठमाडौं । ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिएको छ । शनिबार दिउँसो कुपण्डोलको होटल हिमालयनजिक सडक भासिएर पानी निस्किएको छ ।

पुलचोकबाट पाटन ढोकातर्फ जाने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको हो । अचानक सडक भासिँदा एक जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार सडक मुनिबाट लगिएको मेलम्चीको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको आशंका गरिएको छ । सडक भासिएपछि कुपण्डोल क्षेत्रमा सवारी आवागनममा केही अवरुद्ध भएको छ । सडक व्यवस्थापनका लागि अहिले नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।














