काठमाडौं । संसदको अवरोध हटाउन सभामुखले बोलाएको बैठक बिनानिष्कर्ष सकिएको छ । सभाुमख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन दलका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलमा बोलाएका थिए ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा अवरोध कायम रहने बताए ।
‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उनले भने‚‘ यहाँबाट निस्पेछि पार्टीमा पनि छलफल हुन्छ ।’
नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखले हिंसा शब्द संसदीय शब्द भएको रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।