काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगश भट्टराईको कारण प्रतिनिधिसभा नै प्रभावित बनेको छ ।
एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै माओवादी केन्द्रले प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ । माओवादीले संसद् अवरोध गरेपछि आइतबार सभामुखले दलहरूको छलफल राखेका थिए । तर, दलहरूबिच सहमति जुट्न सकेन ।

दलहरूबिच सहमति नजुट्दा आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दलहरूबिच सहमति हुन नसक्दा प्रभावित भएको छ । छलफलपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गर्न एक घण्टा समय माग गरेका कारण बैठक ढिलाइ भएको हो ।
‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ २६ गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेको बताउँदै आएको छ ।
भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निममापत्ति गरेका थिए । ‘हिंसा’ शब्द हटाउनुपर्ने उनको माग थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले नियमापत्तिका सन्दर्भमा अधययन गर्न संसद् सचिवालयलाई भनेका थिए । त्यसअनुसार सभामुख घिमिरेले भदौ २६ गते एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको र संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाए ।
त्यसपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सभामुखको निर्णयमै प्रश्न उठाएको छ । राजनीतिक आन्दोलनलाई हिंसाको संज्ञा दिने प्रयास भएको भनेर माओवादी केन्द्रको संसदीय दलको बैठकले फिर्ता नभएसम्म संसद् चल्न नदिने निर्णय नै गरेको छ ।
यस सम्बन्धमा आइतबार बिहान सभामुख घिमिरेले राष्ट्रिय दलको मान्यताप्राप्त दलका सचेतक र प्रमुख सचेतकहरूलाई बोलाएका थिए । उक्त बैठक बिना निष्कर्ष सकिएको छ ।














