काठमाडौं । प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने बिषयमा सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए ।

यसअघिको बैठकमा हिंसा शव्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउदै सदन अवरद्ध गरेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले नै सदनमा निरन्तर विरोध जनाउने निर्णय गरेपछि सभामुखले छलफल गरेका थिए ।
छलफलपछि माओवादी केन्द्रका मुख्य सचेतक हितरात पाण्डेले माओवादी सदनमा उठारहेको बिषयबस्तुमा छलफल भएको जानकारी दिए । सदनलाई सहज रुपमा अघि बढाउन सभामुखले गरेको आग्रहका बारेमा पार्टीभित्र छलफल गरेर अघि बढ्ने भन्दै अहिलेसम्म पार्टीको अडान कायमै रहेको उनले बताए ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सदनको गतिरोधका बिषयमा छलफल भएको र सभामुखको रुलिङलाई सवैले मान्नुपर्ने बताए । सदनको नियमावली अनुसार सवै दलहरु अघि बढ्नुपर्नेमा आफुहरुको सुझाव रहेको उनले बताए ।
उनले सदनलाई सहज रुपमा अघि बढाउने र आफ्नो कुराहरु राख्ने गरि अघि बढ्न आग्रह गरिएको जानकारी दिए ।
त्यस्तै बर्तौलाले उपसभामुखको बिषयमा सत्तापक्ष दलले भन्दा प्रतिपक्षी दलले नै उचालेको तर्क गरे । यसमा रास्वपाले नै उपसभामुख जस्तो संस्थाको हुर्मत लिने काम गरेको र सरकारलाई नै विवादमा ल्याउने प्रयास गरेको उनको भनाइ छ ।
सभामुखसँगको छलफलका क्रममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रमुख सचेतक र सचेतकहरु सहभागी थिए ।














