Logo
Logo

मेटमणिलाई पार्टीबाट निकाल्न झलनाथको माग


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न माग गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले लामो वक्तव्य जारी गर्दै नेपाली भूभाग– कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै पार्टीबाटै निकाल्नुपर्ने माग नेतृत्वसँग गरेका हुन् ।

प्रतिनिधि सभा सांसदसमेत रहेका चौधरीले गत भदौ २५ गते एक टेलिभिजन अन्तर्वार्तामा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए ।

यस विषयमा पार्टीले उनीसँग स्पष्टीकरण पनि लिइसकेको छ । तर पार्टीलाई बुझाएको लिखित स्पष्टीकरणमा उपमहासचिव चौधरीले आफूले त्यस्तो नबोलेको जिकिर गरेका छन् भने एकीकृत समाजवादीले ‘जिब्रो चिप्लिएको’ भनी उनलाई थप कारबाही नगर्ने तयारी गरिरहेको बुझिएको छ ।

‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको ‘उपमहासचिव’ र वहालवाला ‘सांसद’बाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’, खनालले वक्तव्यमा भनेका छन् ।

उनले अगाडी भनेका छन्, ‘उपमहासचिवको उक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ । आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्