
काठमाडौं । बर्दियामा एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मीना थारुको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
गएराति करिब सवा १२ बजेतिर बारबर्दिया नगरपालिका– ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनको घरमै पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।
मीनालाई उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । हत्याको कारण नखुलेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














