Logo
Logo

स्थानीय तहका ४० स्थानमा कहाँ-कहाँ हुँदैछ उपचुनाव ?


2.7k
Shares

काठमाडौं । स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि चुन्न सरकारले आगामी मंसिर १६ गते उपचुनाव गर्दैछ ।
स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षमा ३० गरी ४० पद खाली छ ।

स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार सरकारले १६ मंसिरमा देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका स्थानमा निर्वाचन गर्न लागेको हो । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । क्यान्सर रोगबाट पीडित जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएपछि उक्त स्थान रिक्त छ ।

त्यस्तै मिर्गौला रोगबाट पीडित जिसस कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि त्यहाँ पनि रिक्त छ । उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । त्यस्तै मोरङको ग्रामथान र दैलेखेको महाबु गाउँपालिका अध्यक्षमा पनि उपचुनाव हुँदैछ । ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदार र महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको छ । त्यस्तै विभिन्न स्थानीय तहका चार उपाध्यक्ष पद रिक्त छ । जसमा दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सुर्केगाड, बाजुराको स्वामीकार्तिक खापर, र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पद खाली छ ।

गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएपछि उक्त पद रिक्त छ ।
सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौमा गाडी दुर्घटनामा निधनएपछि त्यहाँ पनि चुनाव हुन लागेको हो ।
स्वामीकार्तिक खापरका उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ मा निधन भएको थियो ।

त्यस्तै पुथाउत्तरगंगा गाउँपालिका, रुकुमपूर्वकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको गत भदौ २८ गते बागलुङमा भएको गाडी दुर्घटनामा परी निधन भएको थियो । जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ मा आएको भूकम्पमा परी मृत्यु भएको थियो ।

यता ३० वडाध्यक्ष पद रिक्त छ । नगरपालिकाका २१ र गाउँपालिकाका ९ गरी ३० वडाअध्यक्षका पद पनि रिक्त भएकाले त्यहाँ पनि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ । चुनाव हुन लागेका धेरैजसो वडामा यसअघि कांग्रेसले जितेको थियो ।

उपचुनाव हुन लागेका वडाहरुः
कन्काई–६, गढी गाउँपालिका–६, गोरखा नगरपालिका-५, दुल्लु नगरपालिका-१३, त्रिपुरासुन्दरी नगरपालिका-५, सुर्मा गाउँपालिका-४ मा एमालेका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै लागिगुराँस-८, मोलुङ गाउँपालिका-५, त्रियुगा नगरपालिका-१२, बेलका नगरपालिका-९, डाक्नेश्वरी नगरपालिका-४, धनुषाधाम नगरपालिका-१, ईश्वनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६, कीर्तिपुर नगरपालिका-१, काठमाडौं महानगर-१६, ककनी गाउँपालिका-२, मुसीकोट नगरपालिका-१, रुन्टीगढी गाउँपालिका-४, ठाकुरबाबा नगरपालिका-४, सानीभेरी गाउँपालिका-५, पूर्व चौकी गाउँपालिका-६ र भीमदत्त नगरपालिका-६ रहेका छन् । यी सबै वडामा यसअघि कांग्रेसका जनप्रतिनिधि निर्वाचित भएका थिए ।

रामगोपाल नगरपालिका-२, हेटौंडा–१२, तिलागुफा नगरपालिका-४, कुसे गाउँपालिका-७ र दुहुँ गाउँपालिका-५ मा माओवादीका प्रतिनिधि निर्वाचित थिए । गढीमाई नगरपालिका-६ मा जसपा नेपाल र कीर्तिपुर नगरपालिका-४ मा स्वतन्त्र (कैची)का जनप्रतिनिधि निर्वाचित थिए ।

प्रतिक्रिया दिनुहोस्