Logo
Logo

यस्तो छ गरुडा-८ दलित बस्तीको बाटो, स्थानीयका कुरा सन्दैनन् नगरप्रमुख


प्रेमचन्द्र झा

252
Shares

रौतहट । गरुडा नगरपालिका वडा नम्बर ८ स्थित दलित तथा गरिब बस्ती विचमा पर्ने बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानीजानी नबनाएको स्थानीयले आरोप लगाएका छन् । उक्त बाटो बनाउन पटकपटक नगरप्रमुख जयसवाललाई आग्रह गरेपनि नबनाएको स्थानीय शेख पांचुले बताए ।

उक्त क्षेत्रमा खराब बाटोका कारण पैदलयात्रीलाई समस्या भएको छ । उक्त बाटो भएर नगर प्रमुख जयसवाल हप्तामा कम्तिमा ३÷४ पटक आवतजावत गर्छन् । तर, स्थानीयले बाटो बनाउन गरेको आग्रह उनी सुन्दैनन् । ‘हामी गरिब दलित छौँ, त्यही भएर हाम्रो बाटो उहाँको प्राथमिकतामा परेन’ स्थानीय हरि महराले बताए ।

गरुडा नगरपालिकाले पछिल्लो आर्थिक बर्ष ०८०/८१मा नगरको ९ वटै वडाको सडक मर्मत, ढलान र ग्राभेलमा ५ करोड रुपैयाँ खर्च गरेको इन्जिनियर सञ्जय यादवले बताए । उनले नगरपरिषदबाट पारित योजना कार्यान्वयणको चरणमा काम गर्ने गरेको बताउँदै भने, ‘उक्त सडक योजना छनौटमा परेमा आवश्य कार्यान्वयन गर्ने छौँ ।’

सो वडाका वडाअध्यक्ष वशिष्ठ यादवले भने बजेट नै नभएको बताए । उनले भने, ‘हामी कहाँ बजेट नै छैन ।’ वडाको बजेट २० लाख रहेको उक्त बजेटले शिक्षा, स्वास्थ्य लगायत धार्मिक मठमन्दिर मर्मत चन्दा दिनै नपुग्ने उनले बताए । उनले नगर स्तरीय बजेटमा आफुसँग विना कुनै सल्लाह नगरी मनोमानी ढंगले नगरप्रमुख जयसवालले योजना छनोट गर्ने गरेको आरोप लगाए ।

उक्त वडाको मुल सडकको कचहरी र मुसहरी टोल आगाडिको सडकबाट पैदल आवतजावत गर्ने निकै कठिनाई भएको छ । सो वडा सहितका सडक मर्मतका लागि नगरप्रमुख जयसवाल आफनै निगरानीमा ७ लाख बराबरको ग्राभेल कुन बेला खसाए, आफुलाई थाहा समेत नदिएको अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्