काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।
बुधबार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको कार्यक्रममा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताए ।

उनले शिक्षा ऐन दशैँ तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए ।
उनले भने, ‘शिक्षा ऐनका प्रसंग अघि उठ्यो । यहाँ आउनु पूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट सुरु गर्न मन लाग्यो । आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ ।’














