काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले आइतबार बिहान एक विज्ञप्ति जारी गरी विपद्मा परी एक सय जनाभन्दा बढीको ज्यान गइसकेको, ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौँ नागरिक घरवारविहीन भएका व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरेका हुन् । उनले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हो’, अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युत्का पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दसैँतिहार नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उनले आफ्नो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनःस्थापनाको काममा लागिरहेको बताए । साथै अध्यक्ष प्रचण्डले उनीहरूलाई बेपत्ता नगारिकको खोजी, विस्थापितहरुको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न निर्देशन दिएका छन् ।
यसैबीच अध्यक्ष दाहालले आह्वान गर्नुभएको सर्वदलीय बैठक रद्द भएको उहाँको सचिवालयले जनाएको छ । सरकारले सर्वदलीय बैठक आह्वान गरिसकेको सन्दर्भमा पार्टीका तर्फबाट आह्वान गरिएको सोही प्रकृतिको बैठकको सान्दर्भिकता नरहेकाले त्यो रद्द भएको हो ।














