Logo
Logo

शनिबारसम्म हिउँदे वर्षाको प्रभाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । हिउँदे वर्षाको प्रभाव आउँदो शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत सोमबारदेखि सुरु भएको वर्षा आज बिहीबार मौसम सामान्यतः सफा रहेपनि शनिबारसम्म महाशाखाले जनाएकोे छ । हिउँदे वर्षाको प्रभाव काठमाडौंलगायत देशभर परेको छ ।
बुधबार दिनभर काठमाडौंमा वर्षाका कारण जनजीवन प्रभावित बनेको थियो भने उपत्यकाको उच्च स्थानमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी वर्षा जुम्लामा भएको छ । जुम्लामा पछिल्लो २४ घन्टा २३ दशमलव ३ मिलिमिटर वर्षा भयो ।
यसैगरी नेपालगन्जमा पछिल्लो २४ घन्टामा २२ मिलिमिटर वर्षा भयो । काठमाडांैमा भने पछिल्लो २४ घन्टामा १० दशमलव १ मिलिमटर वर्षा भएको जनाइएको छ । महाशाखाका अनुसार पश्चिमा वायुको प्रभावबाट सोमबारदेखि सुरु भएको मौसम प्रणाली बुधबार राति समाप्त हुँदै छ । बिहीबार एक दिन भने मौमम सफा रहने र शुक्रबारदेखि दोस्रो चरणको मौसम प्रणाली सुरु हुने मौसमविद् मीनकुमार अर्यालले जनाए ।
महाशाखाले बिहीबार दिउँसो र राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने बताएको छ । शुक्रबार भने देशभर पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा सामान्यदेखि पूर्ण बदली हुनेछ । त्यस्तै, शुक्रबार दिउँसो र राति पश्चिमी क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै शुक्रबार देशको हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार समान्यतया १५ पुसदेखि १५ माघसम्म तापक्रम घट्ने क्रम जारी रहन्छ । तापक्रमसम्बन्धी यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरुवातसँगै तापक्रम निरन्तर घट्न थाल्छ । यस वर्ष काठमाडौंमा सबैभन्दा चिसो गत १६ पुस १६ गते भएको थियो । उक्त दिन काठमाडांैको चिसो शून्य दशमलव ५ मा पुगेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बादल लागेका बेला अधिकतम तापक्रम घट्छ तर राति र भोलिपल्ट बिहानसम्म बादल लाग्यो भने न्यूनतमा तापक्रम बढ्छ ।

प्रतिक्रिया दिनुहोस्