काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
त्यस्तै, बैठकले मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै, सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै यस कार्यको घोर भर्त्सना गर्ने निर्णय गरेको छ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बुर्लाकोटीले बताए ।