काठमाडौं । एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दैछ । खेल यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ । दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।
प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो । सो सिरिज ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ ।
टेस्ट राष्ट्र श्रीलंकाको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन । बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ । हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर–१९ टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो ।