काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको बताएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा ‘मेरिटोक्रेसी’ लागु गरेको भन्दै ती प्रयासहरूमाथि सरकारले आक्रमण थालेको आरोप लगाए ।
उनले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सचेत नेपालीका निम्ति सैह्य नहुने चेतावनी दिए । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा आफुहरुको लडाइँ जारी रहने उनको भनाइ छ ।
‘सरकारले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्नेलगायत अवान्छित क्रियाकलाप गरिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचार र बेथितिविरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठ्नेछ ।’