Logo
Logo

ओलीमाथि कांग्रेसको अंकुश !


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सोमबार पाँच दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली चाङको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सबै क्षेत्रबाट चासो तथा उत्सुकताका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो तेस्रो कार्यकालमा अहिलेसम्मको परम्परा तोड्दै आफ्नो पहिलो औपचारिक भ्रमण चीनबाट गर्न लागेकाले पनि यसको बढी चर्चा भएको हो ।

चार महिनाअघि प्रधानमन्त्रीको पदभार सम्हालेपछिको चीन भ्रमण पहिलो द्विपक्षीय भ्रमण हो । तर यो उनको पहिलो विदेश भ्रमण भने होइन । सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका गएका थिए । ओली चीन भ्रमणमा ८७ सदस्यीय जम्बो टोलीका साथ जाने मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ ।

को-को छन् भ्रमण टोलीमा ?
भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजी क्षेत्रबाट ४८ जना चीन जानेछन् । सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन् । जसमा प्रधानमन्त्री, सांसद, सरकारी तथा प्रधानमन्त्री ओलीका सहयोगीसमेत छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा रहेका छन् ।

त्यस्तै नौ जना सांसदहरूमा श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन् ।

त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी छन् । यस्तै प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य पनि चीन जानेछन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, पराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन् । त्यसैगरी प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

एजेन्डामा अझै अलमलमा
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तीन दिन मात्र बाँकी रहँदासम्म पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एजेन्डाका विषयलाई लिएर कुरा मिलेको छैन ।

अहिलेको मुख्य मुद्दा चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई हो । नेपालले सन् २०१९ मा औपचारिक रूपमा बिआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरिसकेको छ । सैद्धान्तिक रूपमा नेपाल बिआरआईप्रति प्रतिबद्ध छ ।

तर, भूराजनीतिक कारणले नेपालमा बिआरआई विवादमा तानिएको छ । अहिलेसम्म कांग्रेस चीनले दिने अनुदान मात्र स्वीकार गर्नुपर्ने अडानमा छ । तर एमालेले आवश्यकताका आधारमा ऋण वा अनुदान लिन सकिने गरी सम्झौता गर्नुपर्ने पक्षमा छ ।

ओलीमाथि कांग्रेसको अंकुश
प्रधानमन्त्री ओलीको काँधमा यसपटक कांग्रेसलाई चिढ्याउने छुट छैन । कांग्रेसको सहमतिबेगर निर्णय गर्दा जुनसुकै बेला गठबन्धनको भविष्यमा प्रश्न उठ्न सक्ने हुँदा त्यस्तो जोखिम लिन एमालेलाई पनि कठिन छ ।

झट्ट हेर्दा प्रधानमन्त्री ओलीले यसपटक भने कार्यशैली बदल्न खोजेको देखिए पनि कांग्रेसको सहमतिबेगर वर्तमान सरकारले कुनै पनि निर्णय गर्न नसक्ने स्थितिमा छ ।

आसन्न चीन भ्रमणमा कांग्रेसको एजेण्डा लिएर जान ओली तयार हुनुले पनि यो कुरालाई पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीको यस भ्रमणले विश्वासको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । जसका लागि सबै राजनीतिक शक्ति र नागरिक समाजबीच राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ ।

राष्ट्रिय एकता र सहमतिका साथ चीन गयौँ भने देशको बृहत्तर हितमा चीनसँग सम्झौता र वार्ता गर्ने थप आत्मविश्वास हुन्छ । तर देशका सबै क्षेत्र र वर्गहरूबिच यस्तो सहमति र एकता निर्माणमा कमी देखिएको छ ।

सत्तारुढ गठबन्धन पनि चीनसँगको सम्बन्ध र सहयोगको मोडालिटीमा विभाजित छ । त्यसैले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट खासै उपलब्धिको अपेक्षा राख्न नहुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्