Logo
Logo

राज्यको आवश्यकताअनुरूप वर्तमान सरकार : सहरी विकासमन्त्री


315
Shares

गण्डकी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकताअनुसार वर्तमान सरकार गठन भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आज आयोजना गरेको छलफल एवं अन्तरक्रियामा नेता सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताए ।

प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि मिलाएर राजनीतिक स्थायित्व दिन सक्छ कि भन्ने कुराले नै यो समीकरण बनेको नेता सिंहले स्पष्ट पारे । छोटो समयमा सरकार परिवर्तन हुँदा त्यसप्रति जनताले पनि प्रश्न उठाउन थालेको उल्लेख गर्दै उनले नटिक्ने सरकारले हाम्रा लागि के काम गर्छ ? टिक्ने सरकार त हुनुपर्‍यो नि भन्ने जस्ता आवाज जनस्तरबाट आउन थालेको बताए ।

शान्ति सम्झौतालाई कांग्रेसले आँट गरेर नै अघि बढाएको प्रसङ्ग स्मरण गर्दै मन्त्री सिंहले राजनीतिक स्थायित्वका लागि नै प्रमुख ठूला दल एकताबद्ध बन्दै अघि बढेको जिकिर गरे । साना दललाई मौका दिँदा कहिले कांग्रेसलाई त कहिले एमालेलाई खेलाएको बताउँदै उनले त्यसले परिणाम दिन नसकेकै कारण राजनीतिक स्थिरता र विद्यमान समस्याको समाधानका लागि अघि बढिएको स्पष्ट पारे ।

वर्तमान सरकार देशका तमाम समस्याको पहिचान गरी एक एक केलाउँदै त्यसको समाधानका लागि अघि बढेको उनको भनाइ छ । सरकार दलहरूबीचकै समझदारीअनुसार अघि बढ्ने र सातबुँदे समझदारीअनुसार सरकार गठन भएको कुरा बहालवाला प्रधानमन्त्रीले स्वयंले भन्दै आएको भन्दै उनले सरकार त्यसअनुरूप नै अघि बढ्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्