
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान सुरू भएको छ । २०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आज उपनिर्वाचन भएको हो ।
गाउँपालिकाका अध्यक्ष पदका लागि १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्र गरी १६ जना चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास, एमालेबाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारु, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझी र नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।














