
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।
बिहीबार साँझ कास्कीबाट काठमाडौं ल्याएर प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो । उक्त सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।














