
काठमाडौं । ताप्लेजुङको सिरिजङगा गाउँपालिका–३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पार्दै सावदेन विजयी भएकी हुन् ।
कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् । उनलाई पराजित गरेका बोखिम रोजगारीका लागि हङकङ गएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
कांग्रेसबाट लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए । लिम्बुवानका राजेन्द्रले ५४ मत प्राप्त गर्दा रास्वपाका देवीले ७ मत पाए भने ९ मत बदर भयो ।














