
काठमाडौं । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री वितरण, उत्पादन लगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको जारी सूचनामा उल्लेख छ ।
तोकिएको निषेधित क्षेत्रमा माछा मासु मदिरा खरिद बिक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच मंसिर शुक्ल पञ्चमीको तिथिमा विवाह भएको थियो । त्यसकै सम्झनामा मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वको रूपमा जनकपुरधाममा सीताराम विवाह पञ्चमी मनाइन्छ ।














