
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता त्रिलोकबहादुर चन्दले संसदीय सुनुवाइ समितिका सदस्य समेत रहेका सांसद ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनवाइका लागि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा पेसी तोकिएको हो । यसअघि मंसिर ६ गते न्यायाधीश शारंगा सुवेदी, मंसिर ११ गते शारंगा सुवेदी र मंसिर १७ गते नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो । ती सबै इजलासले हेर्न नमिल्नेमा राखेका थिए ।
कात्तिक २३ गते संसदीय सुनुवाइ समितिको ५१ औं बैठकमा सांसद ढुंगानाले न्यायाधीश सपना मल्ल प्रधानलाई लक्षित गर्दै प्रश्न गरेका थिए । उक्त प्रश्नमाथि अदालतको अवहेलनामा रिट दायर भएको हो ।
न्यायाधीशहरू नृपध्वज निरौला र नित्यान्द पाण्डेबारे सुनुवाइ भइरहँदा न्यायाधीश मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गरेको गण्डकी प्रदेशबारे आदेशलाई लिएर सांसद ढुंगानाले टिप्पणी गरेका थिए ।














