
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणमा आफ्नो कार्यकक्ष बनाएका छन् ।
उद्योगीको बक्यौता उठाउन विद्युतको लाइन काट्ने प्राधिकरणको नियमित काममा ‘अवरोध’ गर्दै आएका ऊर्जामन्त्री खड्काले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमै आफ्ना लागि नयाँ कार्यकक्ष बनाउन लगाएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षभन्दा माथिल्लो तलामा मन्त्रीको कार्यकक्ष बनाइएको छ । घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेको समयमा मन्त्रीले आज आफ्नो कार्यकक्ष उद्घाटन गरी प्राधिकरणमै बस्न थालेका हुन्।
प्राधिकरणको कामचलाउ अध्यक्षको हैसियतमा ऊर्जामन्त्री रहन्छन् । तर, सरकारले तोकेका विशिष्ट श्रेणीका कर्मचारीका लागि प्राधिकरण कार्यालयमै कार्यकक्ष राख्ने यो अभ्यास बिल्कुल नौलो हो । यसअघिका कुनै पनि अध्यक्षले प्राधिकरण कार्यालयमा कार्यकक्ष बनाएको इतिहास छैन ।
मन्त्री खड्काका लागि सजाइएको कोठामा यसअघि प्राधिकरण प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक तुलराम गिरीको कार्यकक्ष थियो । गिरीको कार्यकक्ष भने केन्द्रीय कार्यालयकै अर्को भवनको कौसीमा रहेको अस्थायी संरचनामा सारिएको छ ।
उद्योगीको बक्यौता उठाउन गरेको हरेक प्रयासमा अवरोध गर्दै आएका ऊर्जामन्त्री खड्काले प्राधिकरण नेतृत्वमाथि हस्तक्षेप गर्न प्राधिकरण कार्यालयमै कार्यकक्ष बनाएको कर्मचारीहरूको आरोप छ ।
देशले चरम लोडसेडिङ खेपेका वेला जनताको घरमा कटौती गरेर भए पनि डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उद्योगीलाई दिएको विद्युतको प्रिमियम शुल्क उठाउन कार्यकारी निर्देशक घिसिङ सक्रिय छन् । तर, मन्त्री खड्का बक्यौता नबुझाउने उद्योगीको पक्षमा छन् । यही सवालमा प्राधिकरणको कामकारबाहीमा निगरानी गर्ने योजना बनाएर मन्त्रीले आफ्नो कार्यकक्ष प्राधिकरणमै बनाएको आरोप छ ।














