Logo
Logo
समाचार टिप्पणी

भिजिट भिसाका आरोपीलाई अदालतको सुनपानी


567
Shares

काठमाडौं । भिजिट भिसामार्फत फर्जी कागजात बनाएर जसरीपनि विदेश जाने र बिदेसिनेको संख्या बढिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालत बुझाएका व्यक्तिहरू अहिले सफाइ पाएका छन् । पछिल्लो समय जसरी पनि विदेशिने मानसिकता बढेको तथा विदेश जानकै लागि नेपालीहरूले लाखौँ रकम खर्चिन थालेको बेला कर्मचारीकै मिलेमतोमा नक्कली कागाजात बनाएर भिजिट भिसामा जानेहरू पक्राउ परेका थिए ।

तिनीहरूमध्ये कतिपय प्रकरणमा कर्मचारी पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट देखिएको थियो । तर ती मध्येका आरोपी कर्मचारीहरूले अदालतबाटै सफाइ पाएका छन् । भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका नरबिर खड्कासहित ९ अध्यागमन अधिकृतहरूले सफाइ पाएका हुन् । जिल्ला अदालतबाटै फैसला पाएपछि सुशासनमा सरकार कमजोर कि न्यायालय भन्ने प्रश्न उठेको छ ।

यद्यपि, न्यायालयले गरेको फैसलामा प्रश्न उठाउन पाइँदैन । जिल्ला अदालतले गरेको फैसलामा सरकारी वकिल कार्यालयलाई उच्चमा जाने सुविधा कायमै रहेकाले यसबारेमा खासै टिप्पणी गर्नु उचित नभएको एक सरकारी वकिल कार्यालयको जिकिर छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो सबैले सफाइ पाएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माले उनीहरूलाई सफाइ दिएका हुन् ।

लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई कसुरदार कायम गर्ने निर्णय भएको छ । गीता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई कसुरदार कायम गरिएको छ ।

न्यायाधीश शर्माले उनीहरूको हकमा सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेका छन् । सरोज कुमार यादव ट्राभल सञ्चालक हुन् । अरुण दाहाल बिचौलिया हुन् । भिजिङ भिसा सेटिङबाट विभिन्न देशमा मान्छे पठाउनेहरूले कतिसम्म कमाइ गर्थे भन्ने कुरा प्रहरीसँगको बयानमा खुलेको थियो ।

नक्कली कागजात र भिजिट भिसामा सेटिङबाट विभिन्न देशमा मान्छे पठाउने काममा प्रत्यक्ष संलग्न खड्काले एउटन ट्राभल्स एजेन्सीबाट एक करोडसम्म खल्तीमा हाल्ने गरेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट एक करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान नै दिएका छन् ।

पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि एक करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका थिए ।

काभ्रेको पाँचखाल–३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे । ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीर खड्काले मात्रै एक करोड बुझेको बताएका छन् ।

नरबीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम बुझ्ने गरेका थिए । ‘भिजिट भिसामा जाने व्यक्तिहरूको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो । अध्यागमन अधिकृत खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो,’ उनले बयानमा भनेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई २०८० मंसिर २६ गते दुई लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो । उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो ।

‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा एक महिला स्टाफलाई नरबीर खड्कालाई दुई लाख दिनु भनी छाडेको थिए, सोही घुस रकम बुझ्दै गर्दा खड्का पक्राउ परेका हुन’ पदमले बयानमा भनेका थिए । प्रहरीले यस विषयमा बलियो प्रमाण पेस गरेको जनाएको भएपनि खड्कासहित सबैले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्