
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनी यही मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंसिर २६ गतेदेखि २९ गतेसम्म प्रधानसेनापतिको भारत भ्रमण कार्यक्रम तय गरिएको जनाएको छ । भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने छन् ।
प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ ।











