काठमाडौं । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएको डा. भीम रावललाई एमालेले पार्टीबाट निष्कासन गर्यो । एमालेको अनुशासनको दण्ड नेता रावलमाथि मात्रै होइन स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि पनि बज्रियो । पाण्डे र तिम्सिना दुवैलाई ६ महिना निलम्बन गरिएको छ ।
उक्त दण्डले नेता रावलको लागि एमालेको ढोका बन्द भएको छ । एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिएर पराजय व्यहोरेपछि भूमिकाविहीन बनेका रावलले पार्टी छाडेका थिएनन् । तर, अध्यक्ष ओलीको उपेक्षामा परेका उनी एमालेबाट किनाराकृत हुँदै गए ।

एमालेले आफ्नो हरेक राष्ट्रिय स्तरका कार्यक्रमहरूमा नेता रावल सहभागी गराएन । गत वर्षको मङ्सिर १४ देखि पुस एक गतेसम्म पार्टीले आयोजना गरेको मध्यपहाडी पदयात्रामा एमालेले नेता रावललाई बाइटक गर्यो ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पनि नेता रावलले प्रवेश पाएनन् । रावलले भने विभिन्न सार्वजनिक कार्यक्रम र सञ्चारमध्यबाट अध्यक्ष ओलीका गलत कदमविरुद्ध आवाज उठाइरहे ।
रावलको असन्तुष्टि सम्बोधन गर्न एमालेले वार्ता टोली समेत बनायो । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सुदूरपश्चिमका एमाले नेता लेखराज भट्ट र कर्णबहादुर थापासहितको तीन सदस्यीय टोली गठन गरेको थियो । उक्त टोलीले नेता रावलसँग एक चरण वार्ता पनि गर्यो ।
तर, अध्यक्ष ओली नेता रावलको फरक मतलाई सम्बोधन गर्नुको साट्टो उनलाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् । पार्टी कार्यालय निर्माण गर्न विवादित व्यवसायी मीनबहादुर गुरुङबाट दान लिने निर्णयको आलोचना गर्दा स्पष्टीकरणको सामना गरेका रावल पार्टीबाटै निष्कासित भएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै मुक्त गर्यो भने अन्य दुई नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनालाई खोसेको छ ।
एमालेले नेता रावललाई पार्टीबाट निष्कासन गरेपछि एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी भने हौसिएको छ । एमाले विभाजनको समयमा माधव नेपाललाई पार्टी विभाजन गर्न हौसाउने एमालेका १० भाइहरूमध्ये रावल पनि एक थिए । संसद् विगठनका बोला एमालेका तत्कालीन वरिष्ठ नेता नेपाललाई पार्टी विभाजन गर्न हौसाउने १० भाइले अन्तिम समयमा उनलाई साथ दिएनन् । एमाले अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरेर उनीहरु एमालेमै बसे ।
एमालेलाई सुधार्ने, अध्यक्ष ओलीको एकाधिकार अन्त्य गर्ने मूल उद्देश्यका साथ रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिस्ट, भीम आचार्य, रघुजी पन्त र अमृतकुमार बोहोरा एमालेमै बसेका थिए । ओलीको एकाधिकार अन्त्य गर्ने भन्दै एमालेमा बसेका उनीहरू उल्टै ओलीको पेलानमा परे ।
कतिसम्म भने आफ्नो विरोध गर्ने र आत्मालोचना नगर्नेहरूलाई ओली २०७९ को आमनिर्वाचनमा टिकट समेत दिएनन् । एमालेले टिकट नपाएपछि घनश्याम भुसालले पार्टी परित्याग गरेर रूपन्देही–१ बाट निर्वाचन लडे । तर, उनी एमालेका उम्मेदवार छविलाल विश्वकर्मा ३ हजार ५ सय ६४ मतान्तरले पराजित भए ।
त्यसपछि माधवलाई पछ्याउँदै एकीकृत समाजवादी पुगेका भुसाल अहिले सो पार्टी महासचिव बनेका छन् । यता, नेता रावल भने निर्वाचनमा टिकट नपाएपनि ओलीको एकाधिकार अन्त्य भन्दै एमालेमै बसे । तर, ओलीले कारबाहीको दण्ड चलाएपछि रावलको लागि एमालेको ढोका बन्द भएको छ ।
एमालेको ढोका बन्द भएपछि रावल पनि भुसालजस्तै एकीकृत समाजवादी नै प्रवेश गर्ने कतिपयको बुझाइ छ । त्यसैले रावलको कारबाहीमा नेकपा एसका कतिपय नेताहरूले खुशी व्यक्त गर्न थालेका छन् भने कतिपयले रावलले विद्रोहको कारण बल्ल थाहा पाएको प्रतिक्रिया दिएका छन् ।
१० भाइ समूहको अरू नेताहरूको पनि अहिले एमालेमा बिजोग रहेको छ । कति नेताहरू जिम्मेवार विहीन एमालेमै बासिरहेका छन् । आफ्नो गुणगान गाउने केही नेतालाई भने अध्यक्ष ओलीले जिम्मेवारी दिएका छन् ।
यता, एमाले विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका वामदेव गौतम पनि नेकपा एसमा प्रवेश गर्न तयारीमा छन् । गौतमको चाहना एमालेमै फर्कने भएपनि ओलीले बेवास्ता गरेपछि उनी नेकपा एस प्रवेश गर्न लागेका हुन् ।
त्यसको लागि नेकपा एससँग एकता गर्न महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति समेत बनाइसकेका छन् । एमाले अध्यक्ष ओलीबाट पीडित भएका नेताहरूको लागि नेकपा एस विकल्प बनिरहेको छ । त्यसैले एमालेबाट निष्कासित नेता रावल पनि नेकपा एस प्रवेश गर्ने धेरैको बुझाइ छ ।
रावलले नयाँ पार्टी खोल्ने तयारीमा रहेको उनी निकटले जानकारी दिएका छन् । रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताइएको छ । तर, नेता रावल नेकपा एसमा जान्छन् या त अरू कुनै पार्टी रोज्छन् भन्ने चाहिँ उनले चाल्ने कदममै भरपर्ने देखिन्छ ।














