Logo
Logo

सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडाइ


2.4k
Shares

पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस अन्तिमतिर पुग्न लाग्दा निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नभएर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सम्भावित सुरक्षा चुनौतीका कारण सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

अदालतको आदेश आउने दिन हुन सक्ने सम्भावित जोखिमलाई टार्न प्रशासनले मंगलबारदेखि नै संवेदनशील प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिइसकेको छ ।

अब रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीको थुनछेक बहसमात्र बाँकी छ ।

मंगलबार लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकहरूले अदालत बाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

जिल्ला अदालत कास्कीको अगाडि वडा प्रहरी कार्यालय बैदाम छ । त्यस क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई रोकिनसमेत दिँदैन । तर, मंगलबार प्रहरीकै अगाडि नाराबाजी भयो ।

बुधबार प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकिने सम्भावना छ । बिहीबार सरकारी वकिलको कार्यालयले जवाफी बहस गरेपछि बिहीबार नै अदालतले आदेश गर्ने सम्भावना छ ।

यस्तो स्थितिमा रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति रहने आकलन सुरक्षाकर्मीको छ । यता, सहकारीपीडित पनि प्रदर्शनमा उत्रिन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्