काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि सरकार ढल्ने चर्चाको खण्डन गरेका छन् । बुधबार बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले सरकार ढल्ने चर्चा हल्लामात्र भएको बताएका हुन् ।

‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ’ उनले भने, ‘तर, सरकारचाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ ।’ एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेमात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन । जतिबेला अन्टसन्ट बोल्ने, विरोध गर्ने । तीनलाई आफ्नो पिठो बिकाउनुछ । तर, आम मानिसको चाहना सुशासन र विकाससँग सम्बन्धित हुन्छ ।’
मंगलबार सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि असन्तुष्टि जनाउन थालिसकेको भन्दै ओली नेतृत्वको सरकार चाँडै ढल्ने बताएका थिए ।














